तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम तराईका थारु बस्तीहरूमा माघीको रौनक, मेला महोत्सवले संस्कृति र एकता मजबुत

कञ्चनपुर । पश्चिम तराईका थारु बस्तीहरूमा थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीको चहलपहल सुरु भइसकेको छ । माघी नजिकिँदै गर्दा कञ्चनपुरसहित कैलाली, बाँके, बर्दिया लगायत पश्चिम तराईका जिल्लाहरूमा मेला, महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रमहरूको रौनक बढेको छ । थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् भने यो पर्व सामाजिक एकता, मौलिक संस्कृति र परम्पराको उत्सवसमेत हो । 

थारु बस्तीहरूमा परम्परागत नाचगान, झाँकी प्रदर्शन, थारु पोसाक र जीवनशैली झल्किने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । माघी पर्वले समुदायभित्र मात्र होइन, विभिन्न जातजातिबिच आपसी सद्भाव र सामाजिक एकतालाई समेत मजबुत बनाउँदै आएको छ । थारु कल्याणकारिणी सभा कञ्चनपुरकी सभापति सुनिता चौधरीले माघी थारु समुदायको पहिचानसँग जोडिएको पर्व भएको बताउँदै यसले नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । 

माघी नजिकिँदै गर्दा थारु समुदायमा विशेष खानपिनका परिकार बनाउने क्रम पनि बढेको छ । घरघरमा माछा, मासु, चामल तथा स्थानीय उत्पादनबाट तयार गरिने परिकारहरू पाकिरहेका छन् । माघीमा विशेषगरी ढिक्री, घोंगी, गँगटा, सुरिक सिकार, मुसक सिकार, मच्छि तथा परम्परागत पेय पदार्थ अनिवार्यजस्तै मानिन्छन् । यी परिकारलाई स्वादसँग मात्र नभई सामूहिकता र संस्कृतिको प्रतीकका रूपमा हेरिन्छ ।

यसैबीच, कञ्चनपुरको बेलौरीमा माघी पर्वलाई लक्षित गर्दै ‘माघ म्याला २०८२’ सुरु भएको छ । बेलौरी नगर भलमन्सा समितिको आयोजनामा तथा बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा पुस २६ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने माघ म्यालाको औपचारिक उद्घाटन पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको हो । पूर्वमन्त्री बिना मगरले माघी पर्व थारु तथा मगर समुदायको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले यस्ता पर्वले सामाजिक एकता बलियो बनाउनुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले यस्ता कार्यक्रमले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुत बनाउने उल्लेख गर्नुभयो । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले माघी पर्वको शुभकामना व्यक्त गर्दै नगरभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई नगरपालिका सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख जोगराम चौधरीले माघ म्यालामा सबै जातजातिका मौलिक सांस्कृतिक कार्यक्रम समेटिएकाले सामाजिक सद्भाव र एकता मजबुत हुनुका साथै स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले माघी पर्व थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको बताउनुभयो । प्रत्येक वर्ष गाउँ टोलमा नयाँ भलमन्सा चयन गर्ने चलन रहेको उल्लेख गर्दै उहाँले माघीले थारु समुदायको ऐतिहासिक संस्कार, जीवनशैली र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

म्यालाको अवसरमा रक्तदान कार्यक्रमसहित थारु समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्किने परम्परागत खानाका परिकार तथा ऐतिहासिक सामग्रीहरूको प्रदर्शनी गरिएको छ । साथै सखिया, मघौटा, झुम्रा र रानाथारु समुदायको होरी नाच पनि प्रस्तुत गरिएको छ । यसरी पश्चिम तराईका थारु बस्तीहरूमा माघी पर्वले संस्कृति, परम्परा र सामूहिकताको उत्सवलाई अझै गहिरो बनाउँदै राष्ट्रिय स्तरमै सांस्कृतिक विविधता र एकताको सन्देश प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button