तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग

कर्णाली । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन (म्यादी) प्रहरीको माग गरिएको छ । 

प्रदेशका दश जिल्लामा रहेका बाह्र निर्वाचन क्षेत्रका लागि नौ हजार ७४३ प्रहरीको माग भएसँगै दरखास्त आह्वान गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचन प्रहरीको माग दश जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्लामा गरिएको छ । 

सुर्खेतमा एक हजार ६२८, दैलेखमा एक हजार ३७८, सल्यानमा एक हजार ३१०, कालीकोटमा एक हजार १०२, जाजरकोटमा ८८६, जुम्लामा ८७८, मुगुमा ५८०, डोल्पामा ५७९ र हुम्लामा ५४९ निर्वाचन प्रहरी माग गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनुभयो । 

निर्वाचन प्रहरीको दरखास्त दिन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन भए पनि सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउने प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । 

सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button