तपाईँ सुन्दै हुनुहुन्छः

गरिब र असहायलाई १ हजार ७ सय थान कपडा वितरण

वीरगञ्ज । कठ्याग्रिँदो जाडो, शितलहर र चिसोलाई मध्यनजर गर्दै वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा गरिब असहाय तथा विपन्न वर्गका व्यक्तिहरूलाई निःशुल्क कपडा वितरण गरेको छ । 

कार्यक्रममा नयाँ तथा प्रयोगयोग्य पुराना गरी करिब १ हजार ७ सय थान कपडा गरिब, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई वितरण गरिएको हो ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि तथा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा समाजसेवी, सुरक्षाकर्मी, संस्थाका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा वक्ताहरूले शीतलहरका कारण दिनदुखी असहायको जनजीवन कठिन बन्दै गएको उल्लेख गर्दै सबैलाई मानवताका काममा सहयोग गर्न आह्वान गरेका छन् । 

अध्यक्ष सिंहले बैङ्कको मानवीय अभियानमा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक तथा सदस्यहरूप्रति आभार व्यक्त गनुभयो । 

यसैबिच वीरगन्ज कपडा बैंकले गत आइतबारदेखि शुक्रवारसम्म बिहान १०ः३० देखि साँझ ५ बजेसम्म वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित कार्यालयबाट नियमित रूपमा निःशुल्क कपडा वितरण गर्दै आएको थियो । 

चिसो मौसम तथा शीतलहरका बेला बैंकले विशेष कार्यक्रम मार्फत सार्वजनिक स्थानहरूमा समेत सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button