नेपाल एकीकरणको सम्झनामा निसान पदयात्रा सम्पन्न
इलाम । नेपालको पूर्वी सीमावर्ती क्षेत्र मेची बजारबाट चार दिनअघि सुरु भएको निसान पदयात्रा आज इलाम सदरमुकाम आइपुगेको छ। नेपाल एकीकरणको सम्झनामा इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको पदयात्रा इलाम सदरमुकामस्थित माइस्थान मन्दिरमा पुगेर समापन भएको हो।

पूर्व राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणका क्रममा तत्कालीन श्रीनाथ पल्टनले पूर्वी भूभाग विजय गरी गाडेका निसानहरूलाई सुगौली सन्धिपछि फर्काएर पुनः स्थापना गरिएका स्थान र मार्गलाई समेटेर गत वर्षदेखि ‘निसान पदमार्ग’ तयार गरिएको हो। सोही पदमार्गमा आधारित भएर पदयात्रा आयोजना गरिएको आयोजकले बताएका छन्।
इतिहासअनुसार श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसान करफोकको पूर्णे डाँडामा ल्याएर राखिएको थियो। सुरक्षाका कारण पछि ती निसान नामसालिङको हात्तीटारमा सारिएका थिए। इलाम सदरमुकाम कायम भएपछि ती निसानलाई माइस्थान मन्दिरमा ल्याएर स्थापना गरिएको इतिहास छ। यी निसानलाई नेपाली नागरिकले पूर्व विजयको प्रतीकका रूपमा लिने गरेका छन्।
श्रीनाथ पल्टनले प्रयोग गरेका तोपहरू पनि अघिल्लो वर्ष माइस्थान मन्दिरमै ल्याएर पुनःस्थापना गरिएको थियो। यस वर्ष पुस २३ गते सुरु भएको पदयात्रामा सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका तथा नेपाली सेनाको सहभागिता रहेको थियो। पदयात्राका क्रममा पूर्व विजयका तीनै निसानलाई पनि साथै हिँडाइएको थियो।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै बेला पूर्वमा टिस्टासम्म पुगेको नेपाली सीमा विसं १८७२ को सुगौली सन्धिपछि खुम्चिएर हालको मेची नदीसम्म सीमित भएको इतिहास छ। त्यसबेला भारतको नागरी गढीमा गाडिएका निसान, तोप र गोलालाई सुगौली सन्धिपछि करफोकको पूर्ण डाँडामा सारिएको इतिहास रहेको इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउनुहुन्छ।
पूर्णे डाँडा नेपाल–भारत सीमासँग नजिक रहेकाले सुरक्षाका कारण केही समयपछि ती निसानलाई नामसालिङको हात्तीटारमा राखिएको र पछि इलाम सदरमुकाम स्थापना भएपछि माइस्थान मन्दिरमा ल्याइएको वैद्यले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्