तपाईँ सुन्दै हुनुहुन्छः

दोगडाकेदारमा १० शय्याको आधारभूत अस्पताल निर्माण 

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । दोगडाकेदार–६ सित्तडमा अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको हो । 

साँढे ८ करोड लागतमा ३ तले आधुनिक भवन निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका योजना शाखा प्रमुख, इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिनुभयो । इन्द्र धनु उग्रतारा निर्माण जेभीले भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । भवनमा सिसिटिभी क्यामेरा जडानसँगै एसी पनि जडान गरिएको छ । 

अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएसँगै कर्मचारीको दरबन्दी कार्यान्वयन र अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । 

अस्पताल सञ्चालनमा ल्याएर पालिकावासीलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने उहाँले बताउनुभयो । 

अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), युएसजी/उपकरण (कलर डोप्टर), सी बी सी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ ।

२०७७ मङ्सिरमा शिलान्यास गरिएको आधारभूत अस्पतालको काम २०७८ असारदेखि निर्माणको काम थालिएको थियो ।  

१० शय्यामा २ जना मेडिकल अधिकृत सहित २२ जना जनशक्ति रहने संरचना पनि तयार भएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७७ सालमा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो जसमा भूगोल र जनसङ्ख्याका आधारमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएको थियो ।  

२०७७ साउन २८ गते ३९६ र पुस १२ गते २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्री स्तरीय निर्णय भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button