तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जानकीस्थित नेवाजी गाउँमा एक गोठमा आगलागी : ७ वटा भैँसी जलेर मरे

बाँके । बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँमा मध्यराति भएको भीषण आगलागीले एक किसान परिवारको सम्पूर्ण जीवन आधार नष्ट भएको छ।

स्थानीय भगवानदिन यादवको जस्तापाताले छाएको गोठमा आगलागी हुँदा ७ वटा भैँसी जलेर मरेका छन्। आगलागीमा गोठसहित पराल, भुस तथा करिब ४ क्विन्टल गहुँ पूर्ण रूपमा जलेर नष्ट भएको छ। यादव परिवारको एक मात्र आयस्रोत भैंसीपालन रहेको थियो।

रातिको समयमा भएको आगलागीबारे परिवारले बिहान करिब ४ बजे मात्र थाहा पाएका थिए। गोठमा पुग्दा सबै सामग्री खरानी भइसकेको पीडित परिवारले जनाएको छ।

“भैँसी नै हाम्रो सबैथोक थियो,” पीडित भगवानदिन यादवले भावुक हुँदै भन्नुभयो, “अब घर कसरी चलाउने र छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले निद्रा हराएको छ।”

जानकी गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता टिकानाथ यादवले घटनास्थलको अनुगमनपछि रेडियो नेपालसँग कुरा गर्दै आगलागीबाट करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको क्षति भएको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाको तर्फबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो।

घटनाको जानकारी पाएपछि प्रहरी टोली र जनप्रतिनिधिहरू घटनास्थलमा पुगेर मुचुल्का उठाएका छन्। बाँके प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ।

यसैबीच गाउँपालिका अध्यक्ष छब्बन खाँसहित वडा अध्यक्षहरू घटनास्थलमा पुगेर पीडित परिवारको अवस्था बुझ्दै सहानुभूति व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button