आफ्नै प्रशासनिक भवनबाट सेवा दिने तयारीमा खजुरा गाउँपालिका

बाँके । सङ्घीयता कागजमा मात्र सीमित भयो भन्ने गुनासो धेरै ठाउँमा सुनिन्छ । तर बाँकेको खजुरा गाउँपालिकामा भने सङ्घीयताको अर्थ अब इँटा, सिमेन्ट र संरचनामा स्पष्ट देखिन थालेको छ । गाउँपालिकाको केन्द्र तोकिएको ‘बी गाउँ’मा निर्माणाधीन प्रशासनिक भवन ८८ प्रतिशत पूरा भइसकेको छ । यो भवन केवल कार्यालय मात्र होइन, स्थानीय सरकारको आत्मसम्मान र जनमुखी शासनको प्रतीक बन्दै गएको छ ।
५ करोड ३६ लाख ४ हजार ८ सय १५ रुपैयाँ लागतमा एम के जुगल जेभीले निर्माण गरिरहेको भवन अहिले अन्तिम चरणमा पुगेको छ । वरिष्ठ लेखा अधिकृत प्रदीप सुनारका अनुसार निर्माण व्यवसायीले भुक्तानी पाएसँगै कामले तीव्रता लिएको हो । “अब अधिकांश संरचनात्मक काम सकिएको छ, बाँकी विवरणात्मक काम मात्र हो,” उहाँले बताउनुभयो ।
पालिकाले माघ महिनाभित्रै भवन सम्पन्न गर्ने स्पष्ट लक्ष्य लिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको छ । “समयमै काम सकियोस् भनेर हामीले नियमित अनुगमन र समन्वय गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष डम्बर बिक ‘तुफान’का लागि यो भवन प्रशासनिक आवश्यकता मात्र होइन, नागरिकसँगको प्रत्यक्ष सम्बन्धको आधार हो । “भवन बनेपछि खजुराका नागरिकले आफ्नै सरकारको अनुभूति गर्नेछन् । अब सेवाका लागि भौँतारिनु पर्ने अवस्था अन्त्य हुँदैछ,” उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्राविधिक पक्षमा पनि काम तीव्र छ । गाउँपालिकाका प्राविधिक भुपेश ओझाका अनुसार भवनको फिनिसिङ सम्पन्न भइसकेको छ भने विद्युत् वाइरिङ, पानीको निकास, तथा अन्य प्राविधिक संरचना अन्तिम चरणमा छन् । “गुणस्तरमा सम्झौता नगरी काम भइरहेको छ,” उहाँले स्पष्ट गर्नुभयो ।
अहिले खजुरा गाउँपालिका साबिकको बागेश्वरी गाविसको पुरानो भवनबाट सेवा दिँदै आएको छ । तर नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि उक्त भवन लुम्बिनी प्राविधिक शिक्षा विश्वविद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत भइरहेको छ । प्रेस सल्लाहकार चन्द्र बोहराका अनुसार यसले शिक्षा र स्थानीय विकास दुवैलाई टेवा पुर्याउनेछ । “एकै संरचनाबाट दुई उद्देश्य पूरा हुनेछन्,” उहाँले भन्नुभयो ।
उपाध्यक्ष मञ्जु मल्लले यो भवनलाई विगतका बहुवर्षीय योजनाहरू सम्पन्न गर्ने सङ्कल्पको प्रतिफलका रूपमा हेर्नु हुन्छ । “पालिका अहिले योजनाहरूलाई गतिशील बनाउने चरणमा छ । योजना शाखा, प्राविधिक कर्मचारी र जनप्रतिनिधि सबै यसमा जिम्मेवार छन्,” उहाँको भनाइ छ ।
स्थानीय नागरिकका लागि भने यो भवन गर्वको विषय बनेको छ । राजकुमार बिक भन्छन्, “सङ्घीयता आएको धेरै भयो, तर आज यो भवन हेर्दा मात्रै त्यसको अनुभूति भएको छ । अब सेवा लिन आफ्नै घरझैँ लाग्नेछ ।”
खजुराको प्रशासनिक भवन एउटा संरचना मात्र होइन—यो स्थानीय शासनको अनुहार हो । यहाँबाट प्रवाह हुने सेवा, निर्णय र जबाफदेहिताले सङ्घीयताको सारलाई जीवन्त बनाउनेछ । जब नागरिक आफ्नै गाउँमै आफ्नै सरकारसँग सेवा लिन्छन्, तब सङ्घीयता कागजबाट व्यवहारमा रूपान्तरण हुन्छ । खजुरामा त्यो दिन अब धेरै टाढा छैन ।








प्रतिक्रिया राख्नुहोस्