रुखबाट लडेर महिलाको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा दाउरा काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ८ः४५ बजे चौदण्डीगढी नगरपालिका–७ अन्तर्गत पर्ने वसन्त पञ्चमी सामुदायिक वनमा दाउरा काट्दै गर्दा सोही वडाकी अन्दाजी ४२ वर्षीया नमिता राई सुकेको सालको रुखबाट अचानक लडेर गम्भीर घाइते हुनुभएको थियो ।
स्थानीयवासीका अनुसार राई छिमेकीहरूसँग सामुदायिक वनमा दाउरा काट्न जानुभएको थियो । दाउरा काट्न रुखमा चढी दाउरा काट्ने क्रममा राई लडेर घाइते हुनुभएको र घटनापछि सँगै रहेका साथीहरूले तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार लगेका थिए ।
नगर अस्पताल बेल्टारमा उपचारका क्रममा चिकित्सकले बिहान करिब ९ः३० बजे राईलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस घटनाले स्थानीयवासीलाई शोकमा डुबाएको छ भने वन क्षेत्रमा दाउरा सङ्कलनका क्रममा अपनाउनुपर्ने सुरक्षा सतर्कताप्रति समेत प्रश्न उठेको छ ।








प्रतिक्रिया राख्नुहोस्