महोत्तरीका १६३ मतदान स्थल अति संवेदनशील वर्गमा
जलेश्वर (महोत्तरी) । महोत्तरीका १६३ वटा मतदान स्थल अति संवेदनशील क्षेत्रमा परेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदान स्थल कायम गरिएकामा १६३ वटा मतदान स्थललाई अति संवेदनशील वर्गमा राखिएको छ ।
त्यसैगरी, ८९ वटा मतदान स्थल संवेदनशील वर्गमा र छ वटा मतदान स्थल सामान्य वर्गमा परेको जिल्लास्थित सुरक्षा संयन्त्रले जनाएको छ ।
महोत्तरीको पूर्व–दक्षिण, दक्षिण र पश्चिम–दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचन स्थल मध्ये १६३ वटा अति संवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचन स्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
त्यसैगरी, जिल्लामा आउँदो निर्वाचनका लागि ५३६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी रञ्जिता झाले बताउनुभयो ।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा जम्मा ५९ वटा मतदान स्थल र १३० वटा मतदान केन्द्र कायम भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा ६२ वटा मतदान स्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ मा ७७ वटा मतदान स्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० वटा मतदान स्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताउनुभयो ।
जिल्ला निर्वाचन अधिकारी झाका अनुसार आउँदो निर्वाचनमा महोत्तरीबाट कूल चार लाख ३१ हजार २८२ जना मतदाताले निर्वाचनमा सहभागिता जनाउने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्