बेलारुसमाथि दबाब कायम राख्न नोबेल पुरस्कार विजेता बियालियात्स्कीको आग्रह
ओस्लो । बेलारुसका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्कीले नर्वेको नोबेल समितिसँगको पहिलो भेटपछि राजनीतिक बन्दीहरूलाई रिहा गर्न बेलारुसमाथि दबाब कायम राख्नु ‘धेरै महत्त्वपूर्ण’ भएको बताउनुभएको छ।
सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएका विपक्षी नेता ६३ वर्षीय बियालियात्स्कीलाई मिन्स्क र वाशिङ्गटनबीच सम्झौता डिसेम्बर १३ मा रिहा गरिएको थियो । संयुक्त राज्य अमेरिकाले बेलारुसमा केही आर्थिक प्रतिबन्धहरू फुकुवा गरेको थियो ।
“राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया जारी रहनेछ भन्नेमा हामी धेरै आशा गर्दछौँ,” ओस्लोमा सन् २०२२ मा उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समितिसँगको बैठकपछि बियालियात्स्कीले एएफपीसँग भन्नुभयो ।
बियालियात्स्कीले भन्नुभयो, “मानवअधिकार रक्षक, पत्रकार र अधिकारकर्मी अझै पनि जेलमा छन् । अहिले, यो सम्भवतः हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण समस्या हो ।”
उहाँले थप्नुभयो, “बेलारूसी सरकार र लुकाशेन्कोमाथि दबाब कायम राख्नु धेरै महत्त्वपूर्ण छ ।सबै राजनीतिक कैदीहरू रिहा हुनुपर्छ ।”
मानव अधिकार अनुगमनकारी संस्था भियास्नाको स्थापनाकार बियालियात्स्कीले बेलारुसमा मानव अधिकार उल्लङ्घनको दस्तावेजीकरण गर्न दशकौँ बिताउनुभएको छ ।
सन् १९९४ देखि सत्तामा रहेका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को उहाँलाई व्यक्तिगत शत्रु मान्नुहुन्छ ।
सन् २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएको केही महिनापछि रुसको मेमोरियल र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजसँगै शान्ति पुरस्कार प्रदान गर्दा उहाँ हिरासतमा हुनुहुन्थ्यो ।
ओस्लोमा पुरस्कार समारोहमा उहाँको प्रतिनिधित्व उहाँकी पत्नी नतालिया पिङ्चुकद्वारा गरिएको थियो ।
भियास्नाका अनुसार बेलारुसमा हाल एक हजार १०० भन्दा बढी राजनीतिक कैदीहरू छन्। रासस








प्रतिक्रिया राख्नुहोस्