तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिकाको नगरसभा : वार्षिक बजेटको २० प्रतिशत रकम कटौती

विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

विराटनगरमा आज सम्पन्न भएको महानगरपालिकाको नगरसभाको १७औँ अधिवेशनले आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो । 

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरूप असुल हुन नसक्नु लगायतका कारण प्रक्षेपण गरिएको भन्दा महानगरको आय न्यून हुने देखिएको हुँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निरौला कार्कीले बताउनुभयो । 

“वडा स्तरीय बाहेकका विषय क्षेत्रगत तथा नगर स्तरीय योजना÷कार्यक्रम समायोजन हुने गरी संशोधित बजेट तथा कार्यक्रम गर्न चाहन्छु,” १७औँ अधिवेशनमा उपमेयर कार्कीले प्रस्तुत संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ । 

चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात् २८.९३ प्रतिशत मात्र यथार्थ आय हुन सकेको छ । 

यसैगरी कुल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख७५ हजार २ सय ८४ रुपैयाँ अर्थात् १७ दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 

खर्च मध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ । प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ ।

यसैगरी कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र यथार्थ आय सङ्कलन भएको उपमेयर कार्कीले बताउनुभयो । 

त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको छ । 

अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ । 

प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७ हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको देखिन्छ । सङ्घ संस्था अनुदानतर्फ १ करोड ६६ लाख अनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँ प्राप्त भएको छ । यसैगरी गत वर्षको मौजात १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ । 

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको अधिवेशन अत्यन्तै मर्यादित र व्यवस्थित रूपमा विराटनगर महानगरको इतिहासमै सबैभन्दा छोटो समयमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले बताउनुभयो ।

सो अवसरमा  महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला बीचको एकता र सहकार्यकै बलमा महानगरले पछिल्ला चार वर्षमा चुनौतीपूर्ण परिस्थिति बीच पनि विकास यात्रालाई निरन्तरता दिएको बताउनुभयो  ।

मेयर कोइरालाले कार्यकालको करिब चार वर्ष अनेकौँ सङ्कट र कठिनाइका बीच बिते पनि जनअपेक्षाप्रतिको उत्तरदायित्वबाट आफूहरू विचलित नभएको उल्लेख गर्नुभयो  ।

“यो अवधि छोटो महसुस हुनुको कारण जनप्रतिनिधिहरू बीचको आपसी विश्वास, सहकार्य र एकता हो”,उहाँले भन्नुभयो “७५३ वटै स्थानीय तह मध्ये विराटनगर जनप्रतिनिधिहरूको सम्बन्ध र सहकार्यका हिसाबले कमजोर छैन, बरु राष्ट्रिय फोरमहरूमा यसको प्रशंसा हुने गरेको छ ।”

मेयर कोइरालाका अनुसार यो सौहार्दपूर्ण सम्बन्ध जनप्रतिनिधिमा मात्र सीमित नरही वडा तहदेखि महानगरसम्मका कर्मचारीहरूसँग पनि मजबुत छ, जसले संस्थागत सफलताको आधार तयार गरेको छ । बाँकी कार्यकालमा समेत यही एकता अझ मजबुत हुने उहाँको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button