लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको शपथ

बुटवल । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष शपथ ग्रहण गर्नुभएको छ । यस्तै नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष शपथ ग्रहण गर्नुभएको हो ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गर्नुभएको हो ।
यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । नव नियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्