रत्ननगर महोत्सव: महको उत्पादन र बजारीकरण प्राथमिकतामा
चितवन । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ ।
१३ औँ संस्करणको उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको महत्व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको कृषि प्रवर्द्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिनुभयो ।
यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भव्य गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरूलाई अगाडि बढाइएको आयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर गिरीले बताउनु भयो ।
रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताउनु भयो । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताउनु भयो ।
महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कश्मीर भ्याली निर्माण गरिँदै छ । पर्यटन प्रवर्द्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरूमा जीप सफारी सञ्चालन गरिने छ । महोत्सवमा अल्लो र गाँजाको बोटबाट बनेका कपडाका स्टलहरू समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहनेछन ।
महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजे/बजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताउनु भयो । महोत्सव महोत्सव अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रवर्द्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिनुभयो ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुदैछ ।








प्रतिक्रिया राख्नुहोस्