मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि पाँच दलका ११ उम्मेदवार

जनकपुरधाम । मधेश प्रदेशबाट राष्ट्रियसभाका लागि ४ वटा पदका ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मधेश प्रदेश जनकपुरधाम अनुसार अन्य, महिला, दलित र अल्पसङ्ख्यक/अपाङ्गता भएका समूह तर्फ गरी चार पदका लागि विभिन्न राजनीतिक दलका ११ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चारवटै समूहमा उम्मेदवारी दिएको छ भने जनता समाजवादी पार्टी नेपालले ३, नेपाली काँग्रेसले २, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १/१ पदका लागि उम्मेदवारी उम्मेदवारी दर्ता गराएको छ ।
महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाका शमी कुमारी अग्रवालले उम्मेदवारी दिनु भएको छ । दलितमा जसपा नेपालकी चमेली देवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्य समूहमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको मधेश प्रदेशका निर्वाचन अधिकृत सुभाष बाबु पुरीले जानकारी दिनु भयो ।
मधेस प्रदेशमा १ सय ४ जना प्रदेशसभा सदस्य र २ सय ६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर ३ सय ७० जना मतदाता रहेका छन् ।
मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कांग्रेस, एमाले, जसपा र लोसपा नेपालका बीचमा गठबन्धन भएको छ । लोसपा र जसपा नेपालबीच पार्टी एकताको निर्णय भैसकेको भएपनि औपचारिक निर्णय नभएको सो पार्टीका नेता सदाशिव मिश्रले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्