विशेष महाधिवेशन पक्षधरद्वारा महाधिवेशनको स्वामित्व लिन काँग्रेस नेतृत्वसँग आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानले व्यवस्था गरे अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन रहर वा छनोटको विषय नभई विधानको बाध्यकारी प्रावधान भएको भन्दै पार्टी केन्द्रलाई आफ्नो दायित्व बुझेर आयोजनाको स्वामित्व लिन आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा विशेष महाधिवेशन सूचना तथा प्रचारप्रसार उपसमितिका संयोजक सुवास पोखरेलले पुष २७ गतेदेखी हुने महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १८ वटा उपसमितिहरू गठन गरी तयारी अगाडि बढाइएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन मार्फत सार्वजनिक वक्तव्यमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित विशेष महाधिवेशन माग गरिएको र प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना पार्टी विधानमा नभएकोले यसलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई नदिएको उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्