लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता
जनकपुरधाम। राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ।
अध्यक्ष ठाकुरले मधेस प्रदेशको निर्वाचन कार्यालयमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो २ः १५ बजे उम्मेदवारी दर्ता गराउनु भएको हो । ठाकुरले राष्ट्रिय सभा सदस्य पदका अन्यतर्फको समूहमा उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृत सुभाष बाबु पुरीले जानकारी दिनुभयो ।
उहाँको उम्मेदवारीको प्रस्तावकमा लोसपाका संसदीय दलका नेता जयनुल राईन रहनुभएको छ भने समर्थकमा सोही पार्टीका प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी रहेकी रहनुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्यका रिक्त रहेका चारवटा सिटको लागि उम्मेदवारी दर्ता आज भइरहेको छ । दलित, अल्पसङ्ख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।
मधेस प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २ सय ६६ गरि ३ सय ७० जना मतदाता छन् । उम्मेदवारी दर्ता पछि पार्टीका नेता शरद सिंह भण्डारीले नेकपा एमाले, नेपाली काङ्ग्रेससँग भएको सहमतिका आधारमा उम्मेदवार बन्नु भएका ठाकुरको जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्