तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, मतदान केन्द्र र मतदाता बढे

रौतहट। जिल्ला निर्वाचन कार्यालय रौतहटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र पारेको छ। 

निर्वाचनलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले यस वर्ष मतदान केन्द्र तथा मतदानस्थलको सङ्ख्या बढाइएको कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार २०७९ को निर्वाचनमा जिल्लामा ५२३ मतदान केन्द्र रहेकामा यसपटक १८ वटा थप गरी ५४१ मतदान केन्द्र कायम गरिएको छ। यस्तै, मतदानस्थलको सङ्ख्यामा पनि परिवर्तन गरिएको छ। २०७९मा २७६ मतदानस्थल रहेकामा यस वर्ष गरुडा नगरपालिका–६ मा एक नयाँ मतदानस्थल थप गरी कुल २७७ मतदानस्थल कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

मतदान केन्द्रसँगै जिल्लामा मतदाताको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। निर्वाचन कार्यालयका अनुसार यसपटक २१ हजार १५६ जना नयाँ मतदाता थपिएका छन् । २०७९ मा ४ लाख १५ हजार ४५५ मतदाता रहेकामा हाल कुल मतदाता सङ्ख्या ४ लाख ३६ हजार ६११ पुगेको छ। दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहट जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १५७ वडा रहेका छन् ।अघिल्लो निर्वाचनको तुलनामा मतदातालाई थप सहज बनाउन एक मतदानस्थल र १८ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । केही महिना अघिसम्म सुस्त देखिएका राजनीतिक दलहरू पछिल्लो समय पुनः सक्रिय बन्दै गएका छन् । 

नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालका अनुसार पार्टीले निर्वाचनमा सहभागिता जनाउने भएपछि दैनिक गतिविधि निर्वाचन केन्द्रित बनेको छ । यता नेपाली काँग्रेस,रास्वपा, मधेसवादी दल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले पनि आगामी निर्वाचनलाई लक्षित गर्दै सर्वसाधारण तथा पार्टीका नेता कार्यकर्तालाई भेटघाट तथा छलफललाई तीव्र पारेका छन् ।

चन्द्रनिगापुरका स्थानीय प्रहलाद गौतमले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउँदै निर्वाचन भएमा आम नागरिक उत्साहजनक रूपमा मतदानमा सहभागी हुन तयार रहेको प्रतिक्रिया दिनुभयो । जिल्लाका विभिन्न चिया पसल र चौराहामा पनि निर्वाचनको विषयमा व्यापक चर्चा हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button