बाँकेमा धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता

नेपालगञ्ज। बाँकेमा धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आह्वानमा बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा सहभागीहरूले सद्भावको सहर नेपालगञ्जको पहिचानलाई जोगाइराख्न सरोकारवाला सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको बैठकले त्यस्ता कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने र त्यसको लागि सबैले सहयोग गर्ने निर्णय गरेको छ । यसैगरी धार्मिक र्यालीलाई व्यवस्थापन गर्ने, र्यालीमा हातहतियार निषेधित गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने, प्रशासनको पूर्व अनुमति लिएर निश्चित रुटमा मात्र र्याली निकाल्न पाइने निर्णय समेत गरिएको छ ।
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्मको तयारीबारे जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्