चितवनमा पशुपालक किसानबिच दूध दुहुने प्रतियोगिता हुँदै
चितवन । चितवनमा पहिलो पटक पशुपालक किसानहरूबिच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ । भरतपुरका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधीकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो ।

कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धता लगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो संस्करणप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई अझै वृहत् बनाउँदै लैजाने योजना छ । नयाँ पुस्तालाई समेत पशुपालन गर्दाको मेहनत र सङ्घर्षको कथा रोचक लाग्नेछन् ।
हरेक मङ्गलवार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रसारण गरिनेछ ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले शो निर्माण गरिएको बताउनुभयो ।
खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ ।
कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्