तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाद्वारा फुटबल वितरण

झापा । नेपालमा ग्रासरुट स्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)–लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ ।

आज झापाको सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला परिसरमा आयोजित बृहत् समारोहमा झापाका दुई दर्जन बढी विद्यालयलाई फिफाले उपलब्ध गराएको एडिडास ब्रान्डको फुटबल वितरण गरिएको हो । एन्फाले जारी गरेको सूचनाअनुसार आवेदन दिएका र छनोटमा परेका विद्यालयलाई आवश्यक सङ्ख्यामा फुटबल वितरण गरिएको बताइएको छ । 

झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् फुटबलका प्रशिक्षक भगिरथ आले मामाको अध्यक्षतामा आयोजित समारोहका बीच समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गरेका थिए ।

झापा जिल्ला फुटबल संघका सदस्य गोपाल पोखरेलले सञ्चालन र उपाध्यक्ष मनिष दाहालले स्वागत गरेको समारोहमा विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, दक्षिण एशियाली फुटबल महासङ्घका महासचिव पुरुषोत्तम कट्टेल, एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै एन्फाको पहलकदमी र फिफाको सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले फिफाको यो सहयोगले नेपालको ग्रासरुट फुटबललाई महत्वपूर्ण सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रम नेपालमा ल्याउन एन्फा र सो संस्थाका अध्यक्ष नेम्बाङले गरेको पहलप्रति मुक्तकण्ठले प्रशंसा गरे ।

एन्फाका सदस्यहरु पुरुषोत्तम थापा, मनिराज विष्ट, प्रवक्ता सुरेश शाह, झापा जिल्ला खेलकुद समिति उपाध्यक्ष गंगा भुर्तेल कोइराला, भद्रपुर झापा गोल्डकपका महासचिव एवम् भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, झापाको अर्जुनधारामा निर्माणाधीन रङ्गशालाका संयोजक मिलन बस्नेतलगायत खेलकुदप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फिफाले यस वर्ष विश्वका केही मुलुकमा फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालन गरेको र सोही कार्यक्रमअन्तर्गत फुटबल वितरण भइरहेको आलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button