तपाईँ सुन्दै हुनुहुन्छः

राँचीमा भएको डब्ल्युकेकेओ करातेमा नेपाललाई १५ पदक

काठमाडौँ । भारतको झारखण्ड राज्य स्थित राँची सहरमा भएको डब्ल्युकेकेओ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप– २०२६ मा नेपाली खेलाडीले आठ स्वर्ण, तीन रजत र चार कांस्य गरी १५ वटा पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागी क्योकुसिन सेईसिन कराते (डब्ल्युकेकेओ– नेपाल) का खेलाडीहरूले विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गरी १५ वटा पदक जित्न सफल भएको वल्ड क्योकुसिन काई कराते फेडरेसनका उपाध्यक्ष, नेपाल क्योकुसिन सेईसिन काइकान कराते संघका अध्यक्ष एवम् नेपाल ब्राञ्च चिफ शिहान अशोक कुमार श्रेष्ठले बताए । 

जनवरी ३ र ४ मा सम्पन्न प्रतियोगितामा ओपन वेटमा स्यानी सिंह, ६० केजी तौल समूहमा प्रबिन माझी, ५५ केजी तौल समूहमा भुपेन्द्र बहादुर ओली र बिन्दु चौधरी, १३–१४ बर्ष उमेर समूहमा निग्मल तामाङ, लेडिज ओपनमा मञ्जु विके, ५० केजी तौल समूहमा मनिता राई तथा १८ बर्ष मुनी उमेर समूहमा अञ्जिला श्रेष्ठले स्वर्ण पदक जितेका थिए ।

त्यसैगरी ओपन वेटमा विकास गुरुङ, ६० केजी तौल समूहमा बिष्णु थापा मगर तथा लेडिज ५० केजी तौल समूहमा निशा केसीले रजत पदक जितेका थिए भने ओपन वेटमा रवीन्द्र लोहार, ५० केजी तौल समूहमा अभय राउत, १३–१४ बर्ष उमेर समूहमा अनिशा गोले तथा ११–१२ बर्ष उमेर समूहमा प्रकृति लिगलले कांस्य पदक जितेका थिए । 

प्रतियोगितामा सहभागी हुन वल्ड क्योकुसिन काई कराते फेडरेसनका उपाध्यक्ष, नेपाल क्योकुसिन सेईसिन काइकान कराते संघका अध्यक्ष एवम् नेपाल ब्राञ्च चिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा ३२ जना खेलाडीको टोली राँची सहर पुगेको थियो । प्रतियोगितामा १५ वटा पदक जित्न सकिएको र यसले नेपाली खेलाडीहरूको मनोबल बढेको श्रेष्ठले बताए । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीमा सन्तोष गुप्ता, राजकुमार तामाङ, जयराम तामाङ, सम्पूर्ण महर्जन, छविलाल खड्का र अफिसियलमा राजन तामाङको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button