तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा जारी कर्फ्यु हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु हटाएको छ । कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ भने बजार क्षेत्रका पसलहरू खुल्न थालेका छन् । 

आज दिउँसो १ बजे देखि पुनः साँझ ६ बजे सम्मका लागि थप गरिएको कर्फ्यु आदेश वीरगन्जको अवस्था सामान्य बन्दै गएपछि अपराह्न साँढे ३ बजेदेखि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । 

जिल्ला सुरक्षा समितिको पुष २१ र २२ गतेको निर्णय अनुसार जिल्लामा शान्ति सुरक्षा, सुव्यवस्था कायम राख्न सुरक्षा संवेदनशीलताको कारण वीरगन्ज महानगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएकोमा आज सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार, व्यवसाय लगायतको गतिविधि निर्बाध रुपमा गर्न दिई जीवन यापन सहज गर्नुपर्ने कारणले पनि आज अपराह्न ३.३० बजे देखि लागु हुने गरी कर्फ्यु आदेश हटाइएको जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

वीरगन्जमा पुष २१ गते १ बजेदेखि नगर क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको र सो समयमा पनि प्रदर्शन नरोकिएपछि साँझ ६ बजेदेखि आज बिहान ८ बजे सम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

त्यसपछि पनि स्थानीय प्रशासनले सुरक्षा स्थितिलाई मध्यनजर गरी दिउँसो १ बजे सम्म र साँझ ६ बजे सम्म गरी २ पटक कर्फ्युको अवधि थप गरेको थियो । 

कर्फ्यु हटेसँगै सर्वदलीय बैठकको निर्णयअनुसार आजै सद्भाव र्‍याली निकाल्ने तयारी भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button