तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा उत्पन्न तनाव समाधानका लागि सर्वपक्षीय बैठक सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा हाल उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकपछि हिन्दू तथा मुस्लिम समुदायका अगुवाहरूसँग शान्ति र सद्भाव कायम गर्न सार्थक संवाद सुरु गरिएको छ ।

विगत केही दिनदेखि वीरगञ्जमा चलेको धार्मिक प्रदर्शन र तनावलाई मध्यनजर गर्दै शान्ति–सुव्यवस्था कायम राख्न आयोजित सर्वपक्षीय बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटना/दुर्घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन वा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापन पत्र बुझाउने र त्यसपछि मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

बैठकमा उपस्थित सबै संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ । संयन्त्रले आजै वीरगञ्जमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ । 

यसैगरी, सबै सञ्चारकर्मी तथा सञ्चार गृहहरूले समाचार सम्प्रेषण गर्नुअघि धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । धार्मिक तथा सामाजिक सद्भाव भड्काउने दुरुत्साहन गर्ने समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, सबै पक्षले आफ्नो समुदायभित्रका कमजोरीहरूको मनन गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता जनाएका छन् ।

बैठकमा उपस्थित सबै संस्था, पक्ष, अभियन्ता तथा अगुवाहरू आजको निर्णयलाई आफ्नो संस्थाको वेबसाइट र फेसबुक पेजमा अपलोड गर्ने तथा यसको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति भएको छ । विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वपक्षीय बैठक पछि वीरगन्जको स्थिति छिट्टै सामान्य हुने बताउनुभयो । 

यसअघि धनुषामा मस्जिद तोडफोडको घटना र सामाजिक सञ्जालमा धार्मिक टिप्पणीबाट सुरु भएको तनावका कारण वीरगञ्जमा कर्फ्यु जारी रहेको छ । सर्वसाधारणलाई संयम अपनाउन र सद्भाव कायम राख्न समेत बैठकले अपिल गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button