तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै

सुनसरी। कोशी प्रदेश सरकारले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दैछ।

हालका सबै मन्त्रीहरूलाई फिर्ता बोलाएर आज बेलुका सम्ममा नयाँ मन्त्रीपरिषद् गठनको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएकाे छ।

कोशी प्रदेशमा हाल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार रहेको छ। स्रोतका अनुसार मुख्यमन्त्री बाहेक हाल सरकारमा रहेका सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ।

हाल नेकपा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई तथा राज्यमन्त्री सिर्जना राई सरकारमा सहभागी छन्।

त्यसैगरी नेपाली काँग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल तथा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हङ्गामा सरकारमा रहेका छन्।

हाल बहालवाला सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कार्कीबिच सहमति भएको  जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button