तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा जारी कर्फ्यु आदेश साँझ ६ बजेसम्म थपियो 

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजे देखि साँझ ६ बजे सम्मकालागि पुनः कर्फ्यु  आदेश थप गरेको छ ।

प्रशासनले बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेश सुरक्षा बस्तुस्थितलाई मध्यनजर गरी साँझ ६ बजे सम्मकालागि थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु  आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज दिउँसो जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठकको आयोजना गरिएको र उत्पन्न विवादको समाधान खोज्ने प्रयास भइरहेको बताउनुभयो । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क बमोजिम पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सीया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट सम्मको चारकिल्लाा तोकि सो सिमाना भित्र कोही कसैले आवत जावत गर्न, कुनै प्रकारको भेला गर्न, सभा जुलुस तथा प्रदर्शन, सभा बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । 

कर्फ्यु आदेशको समयमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनुपर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा फोन गरी बाहिर निस्कन हुन अनुरोध गरिएको छ । 

साथै कर्फ्यु आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववहान, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रीको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा उल्लेख छ । 

वीरगन्जमा आपसी सद्भाव भड्काउने खालका प्रदर्शन दिनहुँ हुन थालेपछि स्थानीय प्रशासनले हिजो दिउसो १ बजे देखि वीरगन्ज क्षेत्रमा निषेधाज्ञा जारी गरेको भएपनि यसका बाबजुद वीरगन्जको लाठगल्ली,छपकैया,बिर्ता लगायतका स्थानमा प्रदर्शन र झडप नरोकिएपछि हिजो साँझ ६ बजे देखि जारी गरेको कर्फ्यु आदेशको समय दुई पटक सम्म थप गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी दाहालले स्थिति सामान्य बनाउन हिन्दु तथा मुस्लिम धर्मका अगुवाहरूसँग निरन्तर छलफल जारी रहेको वीरगन्जको सुरक्षा स्थिति सबल बनाउन प्रहरी प्रशासन जुटेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button