तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा जिल्लाव्यापी पशुचौपाया खोप अभियान सुरु

बाजुरा। बाजुरामा पहिलो पटक जिल्लाव्यापी रूपमा पशुचौपाया खोप अभियान सञ्चालन गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले सुदूरपश्चिम प्रदेश सरकारको कार्यक्रमअनुसार जिल्लाभर एकसाथ खोप अभियान सुरु गरेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा देखिने विभिन्न रोगको रोकथाम तथा पशु स्वास्थ्य सुधार गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार सबै पालिकालाई आवश्यक खोप हस्तान्तरण गरिएको र सोमबारदेखि जिल्लाव्यापी रूपमा एकैसाथ खोप अभियान सुरु गरिएको हो ।

पहिलो चरणमा जिल्लाभर करिब ५० हजारभन्दा बढी डोज विभिन्न प्रकारका खोप वितरण गरिएको छ । अभियानमा २८ जना खोपकर्ता तथा पशु प्राविधिक परिचालन गरिएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले पशुपालन यहाँको मुख्य जीविकोपार्जनको आधार भएकाले यस्तो अभियानले कृषकहरूलाई ठूलो राहत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ। खोप अभियान अन्तर्गत गाई, भैँसी, बाख्रा, भेडा लगायतका पशुचौपायालाई निःशुल्क रूपमा पिपिआर, छमासे, लम्पी स्किन, खोरेतलगायतका रोगविरुद्ध खोप लगाइँदै छ ।

पछिल्लो समय जिल्लामा देखिन थालेका सङ्क्रामक रोगको जोखिम न्यूनीकरण गर्दै बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख जैशीले बताउनुभयो । उहाँका अनुसार करिब तीन महिनासम्म नौ वटै स्थानीय तहका प्रत्येक वडामा पुगेर खोप लगाइनेछ । यस क्रममा जिल्लामा रहेका पशुचौपायाको यकिन तथ्याङ्क समेत सङ्कलन गरिनेछ ।  पहिलोपटक अभियानकै रूपमा खोप कार्यक्रम सञ्चालन भएपछि जिल्लाका किसानहरू खुसी भएका छन् ।

नियमित खोप नहुँदा पशुचौपाया मर्ने, दूध तथा मासु उत्पादन घट्ने समस्या भोग्दै आएका किसानहरू निःशुल्क र सहज रूपमा खोप सेवा पाउँदा ठूलो राहत मिलेको भन्दै खुशी भएका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button