तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयमा आधुनिक पुस्तकालयको नयाँ अभ्यास

बाँके । कैलालीको जानकी गाउँपालिका–६ स्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ। पुस्तक र प्रविधिलाई एकसाथ जोडिएको यस पुस्तकालयले सामुदायिक विद्यालयको अध्ययन–अध्यापन पद्धतिमा नयाँ अभ्यास थपेको छ।

पुस्तकालयमा १० हजारभन्दा बढी ई–बुक, चार हजारभन्दा बढी नयाँ पाठ्य सामग्री तथा परम्परागत पाठ्यपुस्तक उपलब्ध छन्। यसबाट विद्यार्थी र शिक्षकले पाठ्यक्रमबाहेक विभिन्न विषयमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा गगन फाउण्डेसनको संयोजनमा पुस्तकालय स्थापना गरिएको हो। फाउण्डेसनका संरक्षक हिक्मत थापाले प्रविधिमैत्री पुस्तकालयले विद्यार्थीलाई फराकिलो ज्ञान आर्जन गर्न सहयोग गर्ने बताउनुभयो। उहाँले यसको दीगो सञ्चालनमा विद्यालय प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

पुस्तकालय सञ्चालनका लागि नेपाल लाइब्रेरी फाउण्डेसनले प्राविधिक सहयोग गरेको छ। साथै शिक्षक र कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरी सञ्चालन र डिजिटल स्रोत प्रयोगसम्बन्धी एक हप्ते तालिम दिइएको थियो।

यस परियोजनामा युगान्डास्थित रुपारेलिया फाउण्डेसनले आर्थिक सहयोग गरेको हो। अन्तर्राष्ट्रिय सहयोग र स्थानीय पहलले सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शैक्षिक पूर्वाधार सम्भव हुने सन्देश दिएको छ।

पुस्तकालय उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पुस्तकालयले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

गगन फाउण्डेसनले यसअघि जानकी गाउँपालिका–९ स्थित अरुणोदय माध्यमिक विद्यालय खैरिफाँटा र टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा पनि ई–पुस्तकालयसहितका पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरुप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताले पुस्तकालयको महत्व र दीगो सञ्चालनबारे धारणा राखेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button