तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनलाई निष्पक्ष बनाउन मधेसका जिल्लाहरूमा तयारी तीव्र

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन पर्सा बारा लगायतका मधेसका जिल्लाहरूमा आवश्यक तयारी तीव्रताका साथ अगाडी बढाइएको छ । 

निर्वाचन आयोगले पर्सा,बारा जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नियुक्ति गरेसँगै निर्वाचन सम्बन्धि आवश्यक तयारीलाई समेत तीव्रता दिएको छ । 

पर्सा जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीलाई दिइएको छ । उहाँलाई पर्सा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको जिम्मेवारी पनि दिइएको छ ।

त्यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका उपरजिस्ट्रार मधुसूदन आचार्यलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जका उपन्यायाधिवाक्ता बुद्धिलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यता  पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतकी इजलास अधिकृत नूतन झालाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी बारा जिल्लामा जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बनाइएको छ । अधिकारीले बाराको निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्नुहुनेछ  ।

बाराका अन्य निर्वाचन क्षेत्रहरूका लागि नियुक्त निर्वाचन अधिकृतहरूमा क्षेत्र नम्बर १ मा जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, क्षेत्र नम्बर २ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार किरण कुमार सिंह तथा क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे रहनु भएको छ ।

निर्वाचनका लागि नियुक्त अधिकारीहरूले माघ २ गतेदेखि आफ्ना कार्यक्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदाता नामावली अद्यावधिक, उम्मेदवारी दर्ता लगायतका निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य अगाडी बढाउने पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताउनुभयो । 

पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा  निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र भयरहित बनाउन आवश्यक सबै तयारीमा कार्यालय जुटिरहेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button