तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक

कास्की । कास्की जिल्लास्तरीय निर्वाचन समन्वय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बसेको राजनीतिक दलसँगको समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउन भन्दै पोखराका मुख्य व्यापारिक स्थलहरू चिप्लेढुङ्गा र महेन्द्रपुल लगायतका चोक तथा सडक अवरुद्ध हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने सहमति गरेको हो । व्यापार, व्यवसाय र यातायात व्यवस्थापनमा प्रतिकूल प्रभाव नपर्ने गरी उपयुक्त स्थानमा मात्र यस्ता कार्यक्रम सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ ।

बैठकले राजनीतिक दलबाट हुने जनप्रदर्शन र आमसभा लगायतका कार्यक्रम गर्दा सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने र गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयमा तोकिएको फारम भरी अग्रिम लिखित जानकारी गराउनुपर्ने नियम अनिवार्य गरेको छ । यस्तै, दलहरूले कार्यक्रम गर्दा आपसमा समन्वय गरी कार्यक्रमस्थल र समय नजुध्ने गरी व्यवस्था मिलाउनुपर्ने, जिल्लाभित्र आयोजना गरिने सभा, समारोह, प्रदर्शन, मेला, जात्रा, महोत्सव, कन्सर्ट, सांस्कृतिक कार्यक्रम र खेलकुदका लागि पनि स्थानीय तहको पूर्व स्वीकृति लिनुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिँदै सुरक्षा प्रबन्ध मिलाउने निर्णय भएको छ ।

निर्वाचनलाई भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि एकीकृत प्रतिनिधि सभा निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा भई कार्यान्वयनमा रहेको जनाउँदै निर्वाचनका बेला राजनीतिक दलका नेतृत्व, कार्यकर्ता, उम्मेदवार र मतदाताको सुरक्षाका लागि उक्त योजना ल्याइएको बताइएको छ । प्रशासन र दलहरूबीच निर्वाचन सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाउन आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय र सहजीकरण गर्ने सहमति समेत बैठकमा भएको छ । बैठकमा सहभागीहरूले निजी क्षेत्रका व्यापारिक संस्थाहरूको ध्यानाकर्षण र यातायात व्यवस्थापनलाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा अवरोध नगर्ने प्रतिबद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकमा पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको  थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button