नेपालगन्जमा पुस ३० गतेदेखि प्रादेशिक महोत्सव
नेपालगन्ज । नेपालगन्जमा आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने भएको छ । सडक डिभिजन परिसर नेपालगञ्जमा पुस ३० गतेदेखि माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको आयोजना एवम् महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह(आयोजनामा महोत्सव हुन लागेको संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यमी समितिको कार्यालय भवन निर्माणार्थ ‘मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव गर्न लागिएको खत्रीले बताउनुभयो । महोत्सवमा २०० देखि २५० वटासम्म नविनतम् प्रविधिजन्य उत्पादनहरू, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरूको स्टल मेलाको प्रमुख आकर्षणको रुपमा रहने महोत्सव सह(संयोजक विष्णु प्रसाद खनालले जानकारी दिनुभयो ।
महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यमी समिति कोहलपुर पालिका समिति, खजुरा पालिका समिति, बैजनाथ पालिका समिति, राप्तिसोनारी पालिका समिति, जानकी पालिका समिति, डुडुवा पालिका समिति र नरैनापुर पालिका समितिले सहकार्य गरेका छन् ।
स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरूको उत्पादित बस्तुहरूको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले बताएको छ । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्यास लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरू रहने बताइएको छ । साथै महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुने सह(संयोजक खनालले बताउनुभयो । मेला अवधिभर १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिइएको छ ।
महोत्सवले लुम्बिनी प्रदेशभित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ । त्यसैगरी बाँके जिल्लाभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थलहरू बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर बाबाको मन्दिर, वर्फानी बाबाको मन्दिर, वाटर पार्क, गाभर भ्याली लगायतलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुऱ्याउनेमा पनि महासङ्घ विश्वस्त रहेको महोत्सव संयोजक खत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्