तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहर र कठ्याङ्ग्रिँदो जाडोका कारण पर्साका दलित समुदाय बढी प्रभावित 

बीरगंज । शीतलहर र कठ्याङ्ग्रिँदो जाडोको कारण पर्सा जिल्लाका दलित समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको यो समुदायका मानिसहरू जिल्लाका १४ वटै पालिकामा करिब डेढ लाखको हाराहारीमा रहेको पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले बताउनुभयो । 

दलित समुदायका ८५ प्रतिशतको आफ्नो जग्गा नभएकोले ऐलानी जग्गामा अस्थायी घरमा उनीहरूको बसोबास रहेको छ ।  

उनीहरूको बस्ने घर भएपनि जाडोमा लगाउने कपडा, बिछ्याउने र ओढ्ने कपडा सम्मको व्यवस्था नहुँदा समस्या झेल्दै आएका छन् । पोषिलो आहारको पहुँचबाट निकै टाढा रहेको यो समुदायले अहिले चिसोमा ज्याला मजदुरीको काम पनि पाएको छैन भने चिसोले गर्दा काम पाएकाहरू पनि नियमित काममा जान सकेका छैनन् । 

खेतबारीमा काम छैन, ज्याला मजदुरीका अन्य कामहरूमा जान–आउन समस्या रहेको छ ।

विभिन्न सङ्घसंस्था, स्थानीय पालिकाले विपद्को समयमा गर्दै आएका राहत वितरण कार्य यस बर्ष अहिले सम्म शुरु नगर्दा राहतबाट थोरै  भएपनी गुजाराको आशा राखेकाहरू अहिले निराश देखिएका छन् ।

यसै क्रममा दलितहरूको बसोबास रहेको पर्सागढी नगरपालिका वडा नम्बर–३ का बद्री माझीले चिसोले समस्या बढाएको बताउँदै खान तथा लगाउने लुगा, सुत्नका लागि ओढ्नेहरूको अभावले निकै समस्या भएको बताउनुभयो । 

दलित परिवारको घरभित्र सुत्नका लागि पराल बिछ्याइएको छ, कतिपयसँग ओढ्ने कपडा छैन । बालक, वृद्ध र वयस्कहरू मध्ये कमैको खुट्टामा चप्पल रहेको छ । चिसोमा उनीहरूको जीवनशैली हेर्नै नसकिने अवस्थामा रहेको सामाजिक कार्यकर्ता रमाकान्त चौधरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button