लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर

नेपालगन्ज । नेपालगन्ज बजारमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ । हवाई फायर गरेर प्रहरीले भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा खैरो हेरोइन बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले दिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले हवाई फायर गरेर भारतको बहराइचस्थित रुपैडिया बस्ने ३५ वर्षीय इलियास अहमदलाई २८० ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । घटना गएराति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक खैरो हेरोइन खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरेर उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनास्थलबाट उक्त परिमाणको खैरो हेरोइन, एक थान डिजिटल तराजु, हात लगाउने नट एक थान र एउटा मोबाइल बरामद गरेको जनाएको छ । पक्राउ परेका इलियास अहमदसँग जिल्ला प्रहरी कार्यालय बाँकेले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्