तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा होटल अकुपेन्सि ९० प्रतिशत पुग्यो, व्यवसायी उत्साहित

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराका पर्यटकीय स्तरका होटेलहरू करिब ९० प्रतिशत भरिएका छन् ।  पोखरामा जारी पोखरा सडक महोत्सवको अवसरमा अङ्ग्रेजी नयाँ वर्षको मनाउन पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनले गर्दा पोखराको होटल अकुपेन्सि ९० प्रतिशतसम्म पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । 

महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक उपस्थितिका कारण पोखराका होटल अकुपेन्सी औसत ९० प्रतिशत पुगेको भए पनि अब शुक्रबार देखि ह्वात्तै घट्ने उहाँले जनाउनु भयो । यसपालिको सडक महोत्सवको केही दिन अघि देखि पोखरामा भारतीय, तेस्रो मुलुक सहित आन्तरिक पर्यटकहरूको चहलपहल भएको अध्यक्ष सुवेदीले जनाउनु भयो । “नयाँ वर्षमा पर्यटकले पोखरालाई पहिलो रोजाइ बनाएको देखियो, होटेलहरू भरिए,” उहाँले भन्नुभयो । 

“हामीसँग प्राप्त तथ्यांकअनुसार होटल अकुपेन्सी ८५–९० प्रतिशतकै हाराहारीमा रह्यो, नयाँ वर्षको रातमा त करिब ९० प्रतिशत पुग्यो,” सुवेदीले दाबी गर्नुभयो । उहाँका अनुसार आएका पर्यटकमध्ये ५० प्रतिशत आन्तरिक, ३५ प्रतिशत भारतीय र १५ प्रतिशत अन्य तेस्रो मुलुकका पर्यटक रहेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सवले पोखरा उपत्यका मात्रै होइन, वरपरका पर्यटन स्थलहरूको समेत होटल तथा होमस्टेहरूमा पर्यटकहरूको चहलपहल भएको व्यवसायीहरूले बताउनु भयो ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार २७ औँ पोखरा सडक महोत्सव अवधिभर करिब ५ लाख पर्यटक भित्रिएको दाबी गर्नु हुन्छ । “सडक खुल्ला भएकाले टिकट नकटाई आवतजावत भइरहेको हुँदा ठ्याक्कै तथ्याङ्क दिन नसकिए पनि डेढदेखि दुई लाख मानिस नयाँ वर्षको रात मात्र लेकसाइड पुगे,” पौडेलले बताउनु भयो । उहाँका अनुसार उत्साहजनक दर्शक र पर्यटकहरूको भीड र सहभागिताले पोखराको अर्थतन्त्र चलायमान बनाएको दाबी गर्नु भयो । 

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष तथा पोखरा भ्रमण वर्षका कार्यसम्पादन संयोजक गोपीबहादुर भट्टराइले महानगरले एक वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएको दाबी गर्नुभयो । पोखरामा आयोजना भएका मेला महोत्सव तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी सहितका अफिसियलहरुको तथ्याङ्क जोड्दा पोखरामा वर्षमा २० लाख पर्यटक भित्रिएको उहाँको दाबी छ । 

नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइड क्षेत्रमा आतिसबाजी प्रदर्शन, साङ्गीतिक प्रस्तुती, सांस्कृतिक झाँकी र स्थानीय परिकारका स्वादसँगै पर्यटक आवागमन राति अबेरसम्म जारी रहेको महोत्सव संयोजक वसन्त गौतमले बताउनु भयो । सिसी क्यामरा निगरानी, पैदल गस्ती, ट्राफिक प्रबन्धलगायत सुरक्षामा विशेष ध्यान दिइएको उहाँले जनाउनु भयो । बिहीबार बेलुकासम्म महोत्सव जारी रहने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button