अङ्ग्रेजी नयाँ वर्षमा भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो
धनकुटा । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ लाई विश्वभर भव्य रुपमा स्वागत गरि मनाइँदै छ। विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी बिहीबार नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको मानिन्छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि विदेशबाट नेपाल भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्ने गरेका छन्। यो अन्तर्राष्ट्रिय संवत् भएकाले यसलाई विश्वभर मनाउने गरिन्छ। ग्रेगोरियन पात्रोअनुसार इस्वी संवतलाई मनाइँदै आएको छ। नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन पनि रहेको बताइन्छ। पर्यटकको भीड भाड हुने नेपालका विभिन्न ठाउँमा ‘न्यू इयर’ का नाममा यो संवत् मनाइन्छ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ कै अवसरमा धनकुटाको भेडेटार फुड फेष्टिबलको आयोजना गरिएको छ। होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा शुक्रवारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि हरेक वर्ष आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन। यसपटक गरिएको तेह्रौँ महोत्सव हो।
नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ। विशेष गरी अङ्ग्रेजी नयाँ वर्षमा छिमेकी राष्ट्र भारतबाट पिकनिक मनाउन तथा रमाइलो गर्न हजारौँ पर्यटकहरू भेडेटार आएका छन्। छिनछिनमै मौसम परिवर्तन हुने विशेषता रहेको भेडेटारमा भारतको विभिन्न स्थानका पर्यटक देखिन थालेका छन्।
भेडेटारको स्काइ वाक, नमस्ते झरना, नाम्जे, डाँडाबजारको ध्वजेडाँडा, चौबिसे गाउँपालिकाको रानी ताल लगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने पर्यटकहरूको बाक्लो उपस्थिति रहेको छ। भेडेटारमा पूर्वी तराईका जिल्लाका आन्तरिक पर्यटकहरू पनि आएका छन्। भेडेटार तथा आसपासका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू आएसँगै होटल व्यवसायीलाई भ्याई नभ्याई भएको छ भने नमस्ते झरना र रानी तालमा पिकनिक मनाउन आउनेहरूको सङ्ख्या निकै रहेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो।

हरदम चिसो रहने भेडेटारमा गर्मीको समयमा भने अत्यधिक पर्यटक आउने गर्छन्। जाडो याममा भेडेटार आउने पर्यटकको सङ्ख्या घट्न नदिन र नयाँ वर्षमा रमाउन चाहने पर्यटकलाई आकर्षित गर्न भेडेटारमा फुड फेस्टिभलको आयोजना गर्ने गरिएको छ। भारतबाट नयाँ वर्ष मनाउन सयौँको सङ्ख्यामा परिवारसहित भारतीय नागरिक आइपुगेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिम्बूले बताउनुभयो।
भारत वा तराइबाट पहाडको टुप्पोमा रहेका भेडेटार आउन बाटोको सुविधा अत्यधिक राम्रो र छोटो दुरी भएकोले पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। नयाँ वर्ष मनाउन पूर्वी नेपाल आएपछि भेडेटारका बारेमा सुनेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न र यहाँको मनोरम दृश्यावलोकन गर्न आइपुगेको पन्जाबबाट आएका मिलेशकुमारले बताउनु भयो। भेडेटारको मौसम र रमणीय दृश्यले नयाँ वर्ष मनाउने योजना अपेक्षाभन्दा पनि बढी मनोरञ्जन भएको कुमारले बताउनुभयो।
महोत्सवको लागि बजार क्षेत्रमा आकर्षक सजावट गरिएको छ। तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई भेडेटार आसपासका १९ वटा पर्यटकीय स्थलमा घुम्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ। महोत्सवमा आउने पर्यटकहरूलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने व्यवस्था रहेको छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनसँगै नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ। भेडेटारमा पछिल्ला केही वर्षयता साताको अन्तिम दुई दिन शनिबार र आइतबार आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसमा पनि अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने हुँदा पर्यटन क्षेत्रमा उत्साह देखिएको व्यवसायी बताउँछन्।

धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिभल आयोजना गरिएको हो। फेस्टिभलमा विभिन्न परिकारका स्टल, अर्ग्यानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन, स्थानीय तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, मौलिक परम्परागत सांस्कृतिक झाँकी प्रदर्शनीका स्टल राखिएको छ। फुड फेष्टिवलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुनेछ। फेस्टिभलमा करिब दुई करोड ५० लाख बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ। फेष्टिवलमा माउन्टेन बाइक, तमोर नदीमा र्याफ्टिङको मज्जा लिन पाइने भएको छ।
समुन्द्री सतहदेखि १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य बन्ने गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले भेडेटारको नाम्जे बजारलाई १२ औँ गन्तव्य मध्ये पाँचौँ गन्तव्यमा राखेपछि यहाँको पर्यटकीय चर्चा चुलिएको थियो। फेष्टिवल भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्म आयोजना भएको आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्