मध्य तराईका जिल्लाहरूमा घाम लागेसँगै राहत
वीरगञ्ज । कठ्याङ्ग्रिँदो जाडो र शितलहरले प्रभावित मध्यतराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा आज दिउँसो ११ः०० बजेपछि घाम लागेसँगै राहत पुगेको छ ।
झण्डै दुई साता देखिको अत्यधिक जाडो तथा शितलहरले विशेष गरी विपन्न वर्ग तथा दलित समुदायका महिला बालबालिकाहरू बढी प्रभावित भएका छन् । जाडोबाट प्रभावितहरू समेत आज दिउँसो घरको छत तथा खुला स्थानमा निस्केर घाम तापेका छन् ।
घाम नलाग्दा घर घरमा लामो समयदेखि फोहर रहेका कपडाहरू धुन गृहणीहरुलाई भ्याई नभ्याई भएको छ । घाम लागेपछि वीरगन्ज लगायतका बजारमा समेत दैनिक उपभोग्य सामान खरिदका लागि उपभोक्ताहरूको भिड बढेको छ ।
त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीहरूको सङ्ख्या बढेको छ । बीरगंज महानगरपालिका सहित जिल्ला प्रशासन कार्यालय पर्सामा समेत सेवाग्राहीको सङ्ख्या एक साताको तुलनामा आज अत्यधिक रहेको जनाइएको छ ।
लामो समयदेखि घाम नलाग्दा मध्य तथा पूर्व तराईको जनजीवन कष्टकर बनेको थियो ।
घामलागेसँगै अङ्ग्रेजी नयाँ बर्ष २०२६ मनाउनकालागि वीरगन्ज सहित आसपासका स्थानीय बासिन्दाहरू परिवार सहित पिकनिक,वनभोज तथा घुमघामकालागि विभिन्न पर्यटकीय स्थल तथा पिकनिक स्पोर्टहरुमा पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्