मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य
झापा । बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् ।
मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन् । नगरलाई आर्थिक वर्ष २०८३र८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घरघरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार चालू आव २०८२र८३ को पाँच महिनामा ४६ जना क्षयरोगका नयाँ सङ्क्रमित भेटिएका छन् । आव २०८१र८२ मा २१० जना, २०८०र८१ मा २०५ जना र २०७९र८० मा २०० जना क्षयरोगका संक्रमित फेला परेका थिए ।
नगर प्रमुख गोपाल बुढाथोकीले नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य बमोजिम सञ्चालन गर्दै आएको अभियान प्रभावकारी भइरहेको बताउनुभयो ।
शाखाकी प्रमुख सापकोटाले अन्य घातक रोग लागेका सङ्क्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेको बाहेक क्षयरोगबाट हुने मृत्युदर अत्यन्त न्यून रहेको बताउनुभयो । जोखिमयुक्त क्षेत्र पहिचान गरेर सङ्क्रमितको खोजी कार्य गर्ने र अति विपन्न बिरामीलाई पोषिलो खानेकुरा समेत वितरण गर्ने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षयरोग लागेका प्रत्येक बिरामीलाई वर्षेनी एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ । लगत सङ्कलन गरिएका क्षयरोगका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने र उपचारमा फ्लोअप गरिरहेको पनि उहाँको भनाइ छ ।
क्षयरोगी पहिचानका लागि नगरपालिकाले एआई प्रविधिको सहायताबाट छातीको एक्सरे परीक्षण गर्दै आएको छ । यसका लागि मेचीनगरको वडा नं। २, ४, ७, १०, १२ र १५ मा छातीको एक्सरे परीक्षण गर्ने शिविर सञ्चालन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्