बेलौरीसहित कञ्चनपुरका चार नगरपालिकाका विद्यालयहरूमा जाडो बिदा
कञ्चनपुर । कञ्चनपुर जिल्लामा शीतलहरसँगै चिसो अत्यधिक बढेपछि विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै चार वटा नगरपालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेका छन् । बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पुस १७ र १८ गते दुई दिन जाडो बिदा दिने निर्णय गरेका हुन् । यी नगरपालिकाहरूले सञ्चित हिउँदे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द रहने जनाएका छन् ।
पालिका कार्यालयहरूद्वारा जारी सूचनामा हालको मौसमी प्रतिकूलताले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने उल्लेख गर्दै सावधानी स्वरूप बिदा दिनुपरेको जनाइएको छ । तोकिएको अवधिपछि विद्यालयहरू नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
यसअघि, वेदकोट नगरपालिकाले पनि चिसो अत्यधिक बढेको भन्दै एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । वेदकोट नगरपालिकाका अनुसार पुस १४ गते सोमबारदेखि पुस २१ गतेसम्म नगरभित्रका विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोको प्रभावका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएकाले एक हप्ताका लागि बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । उक्त बिदा उपलब्ध हिउँदे बिदाबाटै कट्टी हुने छ ।
पश्चिम तराइका जिल्लाहरूमा पछिल्लो दुई हप्तायता शीतलहरका कारण चिसो अत्यधिक बढेको छ । चिसोका कारण विशेष गरी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । यही स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै कञ्चनपुरका स्थानीय तहहरूले एकै कारण देखाउँदै विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेका हुन् ।







प्रतिक्रिया राख्नुहोस्