कोशी प्रदेश एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टर फाइनलमा
काठमाडौँ । अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै कोशी प्रदेश नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
अन्तिम ८ मा पुग्ने कोशी अन्तिम नै टोली हो । योसँगै पुरुषतर्फको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सेटमा पराजित गरेको हो । योसँगै कोशी समूहको उपविजेता बन्यो । कोशी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
आर्मी समूह विजेता बन्दै अन्तिम ८ मा पुग्दा कीर्तिपुर भने जितविहीन हुँदै बाहिरिएको छ । योसँगै कोशीले सेमिफाइनल पुग्न नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ । पुलिस समूह ‘बी’को विजेता हो । टोलीले ढोरपाटन क्लब र खिल्जी युवा क्लबलाई पराजित गरेको थियो ।
अर्को खेलमा बुढानीलकण्ठ भलिबल क्लबले सेमिफाइनलमा साबिक विजेता हेल्प नेपालसँग खेल्ने भएको छ ।
समूह ‘सी’ को खेलमा बुढानीलकण्ठले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो । योसँगै बुढानीलकण्ठ समूहको उपविजेता बन्यो । बुढानीलकण्ठ पहिलो खेलमा रुकुम पश्चिमसँग पराजित भएको थियो । रुकुम समूह विजेता बन्दै अन्तिम ८ मा पुग्दा जावलाखेल भने बाहिरिएको छ । उता शतप्रतिशत जित निकालेको हेल्प नेपाल भने समूह ‘ए’को विजेता हो ।
महिला तर्फको खेलमा सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको एभरेष्ट भलिबल क्लबले सान्त्वना जितका साथ नवौं एनभिए च्याम्पियनसिपमा आफ्नो यात्रालाई अन्त्य गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सम्पन्न समूह ‘ए’को आफ्नो अन्तिम खेलमा एभरेष्टले चुली युवा क्लबको चुनौती २५–१४, २५–५, २५–११ ले पन्छायो ।
चुलीको यो लगातार तेस्रो हार हो । यसअघि चुलीले विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध पनि ३–० को सोझो सेटको पराजय बेहोरेको थियो । एभरेष्टले पनि यी दुई क्लबविरुद्ध ३–० कै हार बेहोरेको थियो ।
मङ्गलवार न्यु डायमन्डसँग पराजित भएसँगै एभरेस्टको नकआउट चरण पुग्ने सम्भावना सकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्