तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक : नसर्ने रोगको जोखिमबारे छलफल

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा नेपालमा नसर्ने रोगको जोखिमबारे छलफल भएको छ । 

बैठकमा नसर्ने रोग विज्ञ प्राध्यापक डा. अनिल भट्टराईले बदलिँदो जीवनशैलीका कारण नेपालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको बताउनुभयो । 

डा भट्टराईले एन्टिवायोटिक औषधिको अधिक प्रयोग, वातावरण प्रदूषण, तयारी तथा पत्रु खानेकुराको उच्च प्रयोग, फलफूल तथा तरकारीमा विषादीको प्रयोग नियन्त्रण हुन नसक्नु जस्ता कारणले मुटुरोग, मधुमेह, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्दै गएको बताउनुभयो । 

बैठकमा सांसदहरूले फलफूल तथा तरकारीमा अधिक विषादीको प्रयोगलाई निरुत्साहित गर्न पालिका स्तरमा नै विषादी परिक्षण प्रयोगशाला स्थापना हुनुपर्ने, सरकारले नियमित रुपमा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गर्नुपर्ने, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा फैलिरहेको औषधिको प्रयोग तथा स्वास्थ्य सम्बन्धी गलत सूचना नियन्त्रणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने लगायतका धारणा राख्नुभयो । 

समितिका अध्यक्ष सोनाम गेल्जेन शेर्पाको अध्यक्षतामा बसेको बैठकमा सांसदहरूले अस्पतालहरूका लागि खरिद गरिएका स्वास्थ्य उपकरणहरू प्रयोगमा आउन नसक्नुका कारणहरू पहिचान गरी समाधान खोज्नुपर्ने, डेंगी लगायतका सरुवा रोग विरुद्धका औषधि तथा खोपको नियमित आपूर्ति हुनुपर्ने लगायतका धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button