बाघको आक्रमणबाट एक जनाको मृत्यु
बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ बर्षिया बालिकाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा कोठियाकी विनीता परियार रहेकी छन् ।
सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जङ्गलभित्र लगेको स्थानीयले बताएका छन् । आमा छोरी लगायत पाँच जनाको समूहमा सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको थियो । छोरी उकालो चढेर आमालाई तान्दै गर्दा पछाडिबाट बाघले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।
चिन्ताजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले बताउनुभयो ।
पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पुस महिनामै हालसम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चालु आर्थिक वर्षको हालसम्म चितुवा र बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । हाल बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा पनि सामुदायिक वन क्षेत्रमा बढी चितुवा र बाघको आक्रमण बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्