तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा अवैध गाँजा र अफिम खेती फडानी

मकवानपुर। मकवानपुर जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको लागू औषध गाँजा र अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।

यही पुष ११ गतेदेखि १४ गतेसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौँडा, विपद् व्यवस्थापन गुल्म हेटौँडा तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले विशेष अभियान सञ्चालन गरेको हो।

अभियानका क्रममा राक्सीराङ गाउँपालिका वडा न-१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका वडा न-१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको गाँजा करिब २१ बिगाहा र अफिम करिब ९ बिगाहा गरी कुल ३० बिगाहा क्षेत्रफलको खेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

लागू औषधको उत्पादन तथा कारोबार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button