तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज वितरण केन्द्रद्वारा एक महिनामा १ करोड ८१ लाखभन्दा बढी महसुल असुली

बाँके । नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले एक महिनाको अवधिमा १ करोड ८१ लाख रुपैयाँभन्दा बढी विद्युत महसुल असुली गरेको छ ।

मंसिर १४ देखि पुस १४ गतेसम्म बक्यौता असुली, लाइन काट–जोड तथा विद्युत चोरी नियन्त्रण अभियानमार्फत वितरण केन्द्रले सक्रियता बढाएको हो ।

महसुल असुली शाखा प्रमुख लोकेन्द्रबहादुर शाहीका अनुसार बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन र कारबाहीलाई तीव्र बनाइएको छ ।

वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले सो अवधिमा बक्यौता नतिर्ने १ हजार ३ सय ५५ जना ग्राहकको लाइन काटिएको जानकारी दिनुभयो । ती ग्राहकबाट असुली हुन बाँकी कुल बक्यौता २ करोड ३३ लाख ६५ हजार २ सय ११ रुपैयाँ रहेको छ ।

लाइन काटिएपछि बक्यौता बुझाएका ९ सय १२ जना ग्राहकको लाइन पुनः जोडिएको छ । यस अवधिमा कुल १ करोड ८१ लाख ५२ हजार ७ सय ४८ रुपैयाँ महसुल असुली भएको वितरण केन्द्रले जनाएको छ ।

त्यसैगरी विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत ४ वटा कालोपाटी (हुकिङ) प्रकरणबाट १ लाख ५५ हजार ६ सय रुपैयाँ असुली गरिएको छ । बन्द अवस्थामा रहेका मिटर बदली गर्दा २८ हजार ४ सय ५३ युनिट विद्युत पुनः रेकर्ड गरिएको छ ।

वितरण केन्द्रले बक्यौता असुली, विद्युत चोरी नियन्त्रण र मिटर व्यवस्थापनलाई निरन्तर प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ । साथै उपभोक्तालाई समयमै महसुल बुझाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button