सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै
कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आज परम्परागत पर्व पुसे पन्ध्र (पुस १५) विशेष उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष पुस १५ गते मनाइने यो पर्वलाई सुदूरपश्चिमेली समुदायले सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिँदै आएका छन् ।
‘ठुली रात’का रूपमा पनि चिनिने पुसे पन्ध्रमा गाउँका परिवार एक ठाउँमा भेला भएर रातभर देउडा खेल्ने, आगो ताप्दै जाग्राम बस्ने तथा दन्त्यकथा र आइनै–बातै सुनाउने परम्परा छ । यो पर्व पारिवारिक जमघटसँगै सामाजिक एकताको प्रतीक मानिन्छ ।
पुसे पन्ध्रको अर्को विशेषता कन्दमूल संस्कृति हो । यस अवसरमा तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूल पकाएर खाने चलन छ, जसले परम्परागत खानपान र प्रकृतिसँगको सम्बन्ध झल्काउँछ ।
तर पछिल्ला वर्षहरूमा सुदूरपश्चिमका पहाडी क्षेत्रबाट तराई झरेका समुदायमा यो पर्वको मौलिकता क्रमशः कमजोर हुँदै गएको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् । आधुनिक जीवनशैली, व्यस्तता र पुस्तान्तरणको कमीका कारण केही ठाउँमा पुसे पन्ध्र औपचारिकतामा सीमित हुन थालेको उनीहरूको भनाइ छ ।
संस्कृतिविद्हरूका अनुसार पुसे पन्ध्र जस्ता चाडपर्व सुदूरपश्चिमेली पहिचान र इतिहाससँग जोडिएका जीवित परम्परा हुन् । त्यसैले यसको संरक्षण र निरन्तरता आवश्यक रहेको उनीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्