तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ३ लाख १६ हजार ३६४ मतदाता कायम

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा ३ लाख १६ हजार ३६४ जना मतदाता कायम भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा १४ हजार १२१ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लाका १० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी ७ हजार १६३ जना नयाँ मतदाता थपिएका छन्। यस्तै थाहा नगरपालिकामा १ हजार ४१५, मनहरी गाउँपालिकामा १ हजार ४६८ जना मतदाता थपिएका छन्।

त्यसैगरी बागमती गाउँपालिकामा ८४०, बकैया गाउँपालिकामा ८१७, भीमफेदी गाउँपालिकामा ६९३, मकवानपुरगढी गाउँपालिकामा ७५४, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ जना नयाँ मतदाता थपिएका छन्।

मतदाता संख्या बढेसँगै जिल्लामा मतदान केन्द्रको संख्या पनि बढेको छ। अघिल्लो निर्वाचनमा ३६७ वटा मतदान केन्द्र रहेकामा यसपटक ९ वटा थप भई कुल ३७६ वटा कायम भएको प्रमुख ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार मतदान स्थल भने अघिल्लोकै संख्यामा १६७ वटा रहेका छन्।

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको बताउँदै प्रमुख ढकालले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी समानान्तर रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो। मतदाता नामावली तयारी, मतदान स्थल निर्धारणलगायतका सबै कार्य सम्पन्न भइसकेको उहाँको भनाइ छ।

यसैबीच निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा छुट्टै सुरक्षा रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभएको छ। निर्वाचन स्थल तथा केन्द्रहरूको नियमित अनुगमन भइरहेको र जिल्ला सुरक्षा समितिको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो। जिल्लामा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै उहाँले ढुक्क भएर निर्वाचनमा सहभागिता जनाउन आम मतदातालाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button