अन्तर कलेज टि–ट्वान्टी क्रिकेट : बीपीसी लाई ६ विकेटले पराजित गर्दै ज्ञानदा फाइनलमा
वीरगञ्ज । पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तर कलेज टि–ट्वान्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत आज भएको सेमी फाइनल खेलमा ज्ञानदा एकेडेमी विजयी भएको छ ।
वीरगञ्ज पब्लिक कलेज (बीपीसी) लाई ६ विकेटले पराजित गर्दै ज्ञानदा फाइनलमा प्रवेश गरेको हो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बीपीसीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १२० रनको योगफल तयार पार्यो । जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदाले १५ ओभरमा ४ विकेटको क्षतिमा १२२ रन बनाउँदै सहज जीत प्राप्त गर्यो ।
जीतसँगै ज्ञानदा एकेडेमी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको ज्ञानदाले प्रतियोगितामा अहिलेसम्म खेलेको प्रत्येक खेलमा विजयी हासिल गरेको छ ।
एनआइ–कप तराई–मधेस क्षेत्रकै सबैभन्दा ठुलो र लोकप्रिय अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा स्थापित भएको छ । नेशनल इन्फोटेक कलेजले विगत पाँच वर्षदेखि निरन्तर आयोजना गर्दै आएको प्रतियोगितामा यस पटक पर्सा, बारा र मकवानपुर जिल्लाका कुल १० वटा कलेजका टिमहरूले सहभागिता जनाएका थिए ।
सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा आयोजक नेशनल इन्फोटेक कलेज, हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, अल्पाइन स्कुल, बाल एकता बोर्डिङ स्कुल र ज्ञानदा एकेडेमी रहेका छन् ।
त्यसैगरी, समूह ‘बी’ मा वीरगञ्ज पब्लिक कलेज, ओम नेशनल एकेडेमी, ग्लोबल एकेडेमी, डेसिमल कलेज र वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी समावेश छन् ।








प्रतिक्रिया राख्नुहोस्