तपाईँ सुन्दै हुनुहुन्छः

होटल सङ्घद्वारा पर्यटन मन्त्री सिन्हा समक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र पेश

पोखरा । होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो हालसम्म कार्यान्वयन आउन नसकेको गुनासो गर्दै तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

उद्योग र कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हालाई सङ्घले पोखरामा स्वागत गर्दै उल्लेखित विषयलाई शीघ्र कार्यान्वयनमा लैजान ध्यानाकर्षण जोडदार माग गरेको थियो । हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न सहरहरूमा उडान सञ्चालन गराउन आवश्यक पहल गर्न समेत अध्यक्ष सुवेदीले ध्यानाकर्षण गराउनुभयो । यसका साथै छिमेकी देशका सीमावर्ती शहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक सहरबिच आन्तरिक हवाई सञ्जाल विस्तार गर्न समेत सङ्घले आग्रह गरेको छ ।

यसैगरी २०५७ भन्दा पहिले निर्माण भएका साना तथा मझौला होटल उद्योगहरूले गर्नु पर्ने वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै यसलाई खारेज गर्न सङ्घले माग समेत गरेको छ । जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरूलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्था गर्न र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यलाई तोकिएको समयसम्म पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने सङ्घले स्मरण गराएको छ ।

व्यवसायीको गुनासो सुन्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढेको र छिटै कार्यान्वयन हुने आश्वासन दिनुभयो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा पनि सरकार लागि परेको दाबी गर्दै उहाँले केही समयपछि यसको केही नतिजा आउने बताउनुभयो । गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले विमानस्थलको विषयमा धेरै पटक संघीय सरकारको ध्यानाकर्षण गराइएको विषय उक्त अवसरमा स्मरण गराउनुभयो  ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले नेपालमा अपेक्षित पर्यटक नआउनुको कारण खोजिनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता र बन्दीहरू पक्राउ नगरिएसम्म सुरक्षाको वातावरण तयार हुन नसक्ने उहाँको भनाई थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले बङ्गलादेशी र श्रीलंकन मुद्रा सटहीको सहज सुविधा नेपालमा गर्न सके पर्यटन क्षेत्र अगाडि बढ्न मद्दत पुग्ने सुझाव दिनुभयो । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि बहादुर भुजेलले पर्यटकीय लेकसाइड क्षेत्रमा पार्किङलाई व्यवस्थित गरिनुपर्ने माग गर्नुभयो । फेवातालको मापदण्ड सम्बन्धि अदालतले गरेको फैसला सच्याइनुपर्ने उहाँको भनाई थियो । संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश) लगायतले पोखरा क्षेत्रको दिगो पर्यटनमा सङ्घीय सरकारले लगानीको वातावरण तयार पार्न आग्रह गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button