नेकपा धनकुटाबाट निर्वाचनका लागि गायक, पत्रकारसहित ११ जनाको नाम सिफारिस
धनकुटा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन र माघ ११ हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पार्टीको केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभाका लागि एक जनाको नाम सिफारिस गरेको हो । साविक नेकपा माओवादी केन्द्र धनकुटाकी संयोजक कुसुम कुमारी श्रेष्ठका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ धर्मराज पौडेल, शम्भु राई, टेकनाथ (टिएन) आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र लोकेन्द्र राईको नाम सिफारिस गरेको हो ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पौडेल २०४९ सालमा नेकपा एमालेबाट जिल्ला विकास समितिको सभापति भइसकेका व्यक्ति हुन भने २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार पौडेल माओवादीका नेता हरिराज खेवासँग पराजित भएका हुनुभएको थियो । यस्तै राई वरिष्ठ गायक तथा चर्चित सङ्गीतकार हुनुहुन्छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. १० चुम्माङ्ग जन्मथलो रहेका राई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएको छ ।
आचार्य साविक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ भने विश्वकर्मा र कन्दङ्वा साविक नेकपा माओवादी केन्द्रकै प्रदेश कमिटी सदस्य रहनुभएको छ । यस्तै राईलाई पार्टीको नीति अनुरुप नवयुवाको रुपमा सिफारिस गरिएको श्रेष्ठले बताउनुभयो ।
त्यस्तै प्रतिनिधि सभा समानुपातिकतर्फ धनमाया विश्वकर्मा, कुसुम कुमारी श्रेष्ठ, गोपाल बराइली र सरिता बराइलीको नाम सिफारिस गरेको छ । विश्वकर्मा साविक नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री हुन भने श्रेष्ठ साविक नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धनकुटा संयोजक र निवर्तमान प्रदेश सभा सदस्य हुन् ।
श्रेष्ठ गत निर्वाचनमा प्रदेशसभा सदस्यमा एमालेका इन्द्रमणि पराजुलीसँग पराजित हुनुभएको थियो । यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गोपाल बराइली साविक नेकपा एसका धनकुटा संयोजक तथा रेडियो धनकुटा एफएमका सञ्चालक रहनु भएको छ भने नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य सरिता बराइली रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत रहनुभएको छ ।
राष्ट्रिय सभाका लागि साविक नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दुर्गा कुवँरको नाम सर्व सहमतिमा सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टी धनकुटाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्