ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट I रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा शनिबार बिहान भएको ब्वाइलर विस्फोटमा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । शक्तिशाली विस्फोटका कारण डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको छ ।
दुर्घटनामा कटहरिया–९ बलुवा गाउँका अन्दाजी ४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । विस्फोटमा परेर घाइते भएका ६ जनामध्ये केहीको अवस्था गम्भीर रहेको र उहाँहरूलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्ज रिफर गरिएको छ ।

घाइते हुनेहरूमा कटहरिया नगरपालिका–८ का ४५ वर्षीय रहमोद आलम, ३५ वर्षीय प्रमजित यादव, ५१ वर्षीय जगदिश यादव, ५५ वर्षीय बिगन यादव, ४० वर्षीय कैलाश माली तथा गरुडा नगरपालिका–५ महमदपुरका ४० वर्षीय मुकेश यादव रहेका छन् ।
विस्फोटमा परी घाइतेहरूको हातखुट्टा डढेको र उनीहरूको थप उपचारका लागि वीरगञ्ज पठाइएको जानकारी पनि डिएसपी बस्यालले दिनुभयो ।
उहाँका अनुसार आज बिहान करिब साढे ८ बजे विस्फोट भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्य, इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद यादव तथा इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्यालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्