तपाईँ सुन्दै हुनुहुन्छः

११ जना ज्येष्ठ नागरिक सम्मानित

रौतहट । हाम्रो साझा दायित्व र अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा रौतहटका ११ जना ज्येष्ठ नागरिक सम्मानित हुनुभएको छ ।

ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटको आयोजनामा गौर नगरपालिकाको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुवा आमालाई परिवारमै सम्मान र आदर गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिक ऐन ल्याइसकेको र बुवा आमाको सेवा नगरे कानुनी कारबाही हुने व्यवस्था रहेको जानकारी दिनुभयो । छोराबुहारीबाट दुःख पाए पनि माया–ममताका कारण धेरैजसो बुवा आमाले उजुरी गर्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, प्राध्यापक रमेश श्रीवास्तव र पण्डित गंगाधर झा लगायतका ज्येष्ठ नागरिक वक्ताले सामाजिक परम्पराका कारण वृद्ध बुवा आमाहरू प्रताडित हुनुपरेको गुनासो गर्नुभयो । साथै छोराबुहारी आफैँ अभिभावक बनेपछि अनावश्यक बहस नगर्ने, उनीहरूको खुसीमै आफ्नो खुशी खोज्ने बानी बसाल्नुपर्ने सुझाव दिनुभयो ।

ज्येष्ठ नागरिक संघका जिल्ला तथा प्रदेश अध्यक्ष विजय किशोर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ११ जना ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट, थर्मस र च्यवनप्राश प्रदान गरिएको छ । उहाँहरूलाई प्रमुख जिल्ला अधिकारी भुसाल, प्रहरी उपरीक्षक रबीन कार्की, सशस्त्र प्रहरीका अधिकारीहरू, गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर तथा नागरिक समाजका प्रतिनिधिले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button