प्रमुख प्रशासकीय अधिकृत फेरबदलले स्थानीय तहमा अन्योल
रौतहट । रौतहटमा केही स्थानीय तहमा आफ्नै अनुकूलका प्रमुख प्रशासकीय अधिकृत ल्याउने प्रयास भइरहेका घटनाले सुशासन र विकास निर्माण प्रभावित बनेको छ । यमुना माई गाउँपालिकामा पछिल्लो तीन महिनाको अवधिमा तीन पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत खटाइदिन पत्राचार गरिएको पाइएको छ ।

यमुना माई गाउँपालिकाका अध्यक्ष महमद सउदले आफ्नो अनुकूल प्रमुख प्रशासकीय अधिकृत नहुँदा मन्त्रालयमा पटक–पटक पत्र पठाएको स्थानीयले बताएका छन् । स्थानीय जितेन्द्र आर्याका अनुसार महिनैपिच्छे प्रमुख प्रशासकीय अधिकृत फेर्ने निर्णयका कारण पालिकाको नीतिगत कामकाज र विकास निर्माणमा गम्भीर समस्या भइरहेको छ । तर अध्यक्ष सउदले त्यसतर्फ कुनै ध्यान नदिई मनपरी निर्णय गर्दै पालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाइएको छ ।
गत कार्तिक १८ गते अध्यक्ष सउदले सुशिलकुमार साहको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै अन्यत्र सरुवा गर्न र वकिल प्रसाद पाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन मन्त्रालयमा पत्राचार गर्नुभएको थियो । सोही पत्राचारका आधारमा कार्तिक २७ गते मन्त्रालयले पाललाई यमुना माईमा खटाएको थियो ।
तर त्यसको एक महिना नबित्दै मङ्सिर १९ गते अध्यक्ष सउदले पुनः स्वास्थ्य शाखा प्रमुख डा. सुधीर कुमार सिंहलाई प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न पत्र पठाउनुभयो । मन्त्रालयले सहमति नदिएपछि पुस ९ गते आयुर्वेद शाखामा कार्यरत रामश्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न पुनः पत्राचार गरिएको स्थानीयले बताएका छन् ।
तीन महिनामा तीन जना अधिकृत ल्याउने प्रयासले अध्यक्ष सउदले आफ्नो अनुकूलताको लागि सिङ्गो गाउँपालिकालाई बन्धक बनाएको जितेन्द्र आर्याले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष साउद कार्यालयमा नबसी होटेलमै बसेर यस्ता पत्र तयार गर्ने गरेको कारण पालिकाको अवस्था लथालिङ्ग बनेको छ ।
यसैबीच, उक्त कार्यमा लेखापाल श्रीनारायण झाको पनि संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय तह लागू भएदेखि नै सोही पालिकामा लेखापालको जिम्मेवारी सम्हाल्दै आर्थिक अपचलन गरी पालिकामाथि अनावश्यक आर्थिक भार थपिँदै आएको आरोपसमेत लगाइएको छ । घटनाले यमुना माई गाउँपालिकामा प्रशासनिक स्थिरता र सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ ।








प्रतिक्रिया राख्नुहोस्